Monday, February 9, 2015

गुन्द«ुक

आँगनमा दुइ वटा धूपीका बोट छन । एउटा अलिक झ्यांगिएको छ । त्यसको अगाडि अर्को निकै सानो देखिन्छ । धूपीका बोट वरिपरि इटाँले घेरिएको छ, सुरक्षाका कारणले । होइन होइन, आँगनको भुइँ माटोको छैन, सीमेन्टले प्लास्टर गरिएको छ । त्यस्तोमा इँटा लगाउनु जरुरी नै हुन्छ क्यारे । गेट फलामको छ । नीलो रंगको । गेट र घरको वीचमा दायाँपट्टि एउटा बगैँचा पनि छ । गुलाब, घण्टीफूल अनि अरु विभिन्न थरिका फूल रोपिएका छन ।

 
“संचिता ! ए संचिता ! छोरि !” बसुन्धरा मोबाइलमा कुरा गर्दै पल्ला घरबाट कोठामा पढ्दै गरेकी छोरीलाई बोलाउँछिन । एक दुइ पटक बोलाएपछि संचिता मन नभइ नभइ पनि जवाफमा भन्छिन “हजुर ममी ।” “ग्याँस अफ गर, छोरी । भात पाक्यो । म आइहाल्छु ।”
बसुन्धरा फोनमा भाइसँग कुरा गर्दै हुन्छिन, जो काठमाण्डौमा बस्छन । भाइ कोटेश्वरको फूटपाथमा लुगाकपडा बेच्ने गर्छन ।
“बाबु, सन्चै छस ?”
“अँ । त्यता के छ ?”
“यता के हुनु र ? तँलाइ थाहै छ नि ।”
“अनि के कति कामले फोन गर्नु भको ?”
“हेर्न बाबु, पर्सीबाट भान्जा भान्जीको परिक्षा छ । स्कुलको फि नतिरेको धेरै भो । अलिकति पैसा पठाइदिन्थिस कि भनेर ।”
“जहिले पैसा पैसा भन्नुहुन्छ । हैन, तपाइको अफिसले तपाइलाइ तलब दिदैँन ?”
“त्यो नाथे हजार तिनेकले के हुन्छ यो महंगीमा ? भन्त बाबु ।”
“ल ल पठाइदिउँला । ५ हजारले पुग्छ ?”
“स्कुलमा पुरानो बाँकी १२ हजार जति छ । १० हजार जति तिर्न पाए अलि दिनलाइ ढुक्क हुन्थो ।”
“ल ल ८ हजार पठाइँदिन्छु । मेरो समस्या कोहि बुझ्दैन । घरबाट पनि खाली पैसा मागिराख्नुहुन्छ बुबाले । सरिता पनि आमा हुने भकी छे ।”
“ल हो र ? अनि खुशीको खबर सुनाउँदैनस त मलाइ । पराइ नै सम्झिस है ?”
“त्यस्तो हैन । हिजो अस्ती भर्खर थाहा भको हो । फोन गर्ने सोचिराखेको थिएँ ।”
“ल बाबु । राखेँ । आज शुक्रबार । चाँडै पठाइदे । बैंक बन्द होला ।”
“ल ल बाइ ।”

पल्लाघरे कार्की आन्टीको घरबाट आफ्नो कोठामा आउँछिन बसुन्धरा । झटपट संचिता र सोहनलाइ खाना खान दिइन । आफू पनि बसिन । सोहन करायो “ममी, जहिले गुन्द«ुक ? मलाइ गुन्द«ुक मनै पर्दैन भनेको होइन मैले ?” “तँ मुर्दारलाइ खसीको मासु पकाएर खुवाउन त तेरा बाउले पैसा पठाउनु पर्यो नि ।” झोक्किइन बसुन्धरा । आमाको तातो रिस देखेर सोहन चुपचाप गुन्द«ुक र भात खान्छ । संचिता केहि बोल्दिन । लुगा लगाएर छोराछोरीलाइ स्कुल पठाउँछिन अनि आफू पनि अफिस जान्छिन बसुन्धरा ।
बसुन्धराका श्रीमान हराएको २ वर्ष भयो । सीसाघारीबाट कटारी बजार जान्छु भनेर हिँडेका उनी बेलुका घर आएनन । बसुन्धराले उनको मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ बतायो । कहिलेकाँहि घरमा खबर नगरी कटारी बजारमै साथीहरुसँग बस्ने भएकाले बसुन्धरा भोलि आउनुहोला भन्ने अड्कल काट्दै बच्चाहरुलाइ सुताउन लागिन । भोलिपल्ट बिहान ८ बजेसम्म पनि नआइसकेपछि उनी सुर्ताउन थालिन । सासुलाई चिन्ता पोखिन “आमा, वँहा त अझै आउनुभएन । के गर्ने हो अब ?” ससुरा बाहिर बसिरहेका थिए । सासुले ससुरा भए ठाउँ आएर भनिन “ए रामका बुबा । राम त अझै घर फर्किदैन । कतै साह्रो गाह्रो पो पर्यो कि ?” ससुराले अलिकति पनि नआत्तिकन चियाको अन्तिम सुर्को पिउँदै भने “आ छोरा मान्छे हो । कतै साथीहरुसँग घुमघाममा गयो होला नि । घरमा पनि त के नै काम छ र ? भोलि पर्सी आइहाल्ला । त्यसपछि पनि केहि भएन भने खोजखबर गर्नुपर्छ ।”
भोलि आउनुहोला, पर्सी आउनुहोला भन्दै बसेकी बसुन्धरा आज २ वर्ष पछि पनि कतै वँहा आइहाल्नुहुन्छ कि भनेर बाटो हेर्छिन । तर श्रीमति, छोराछोरी सीसाघारीको घर छाडेर यहाँ कटारीमा डेरा गरेर बसेको उनलाइ के थाहा ? श्रीमानको अत्तोपत्तो नलागेपछि उनी चुप बसिनन । घरका सदस्यहरुले सहयोग नगरेपछि आफैँ छिमेकीको साथ लिएर कटारीको प्रहरी कार्यालय गइन । केहि रिपोर्ट छैन । श्रीमानका साथीहरुलाइ भेटिन । अहँ पत्तो लागेन । ज्योतिषीलाई देखाइन । “तिम्रा श्रीमान मरेका छैनन । पूर्व दिशातिर गएका छन । दोस्रो घरजम गरिसकेको पनि देखिन्छ ।” श्रीमान हराएको झण्डै ६ महिनापछि कटारीका सबैभन्दा जान्ने ज्योतिषीलाई चिना देखाउँदा निराशाजनक जवाफ पाइन ।
श्रीमान नभएपछि घरमा स्वभाविक रुपमा बसुन्धराले राम्रो व्यवहार पाइनन । दुखजिलो गरि २ वर्ष जति बसेपछि उनका माइति पक्षका आफन्तहरुले उनलाइ कटारी आएर बस्न सल्लाह दिए । स्थानीय इन्देणी वचत तथा ऋण सहकारी संस्थामा ‘कलेक्सन’को काम पाइन । दिनभरी कटारीका पसल पसलमा गएर पैसा उठाउनु उनको काम थियो । त्यसबापत उनलाइ ५ हजार रुपैयाँ दिइन्थ्यो । छोरा छोरी पनि सरकारी स्कुलबाट बोर्र्डिङ स्कुलमा पढ्न थालेका थिए । ठूली संचिता ३ कक्षामा अनि सानो सोहन १ कक्षामा पढ्थे ।
सोहन ६ वर्षको एकदमै दुब्लो केटा थियो । कटारीको गर्मीमा उ घरमा बस्दा सेन्डो लगाउँथ्यो । यसो गर्दा उसका ढाडका दुइ पट्टिका हाड प्रस्ट देखिन्थे । गाला पनि भित्र भित्र पसेका थिए । संचिता भाइको तुलनामा केहि स्वस्थ अनि ठिक्क ज्यानको देखिन्थिन । उनका कपाल धेरै नकोरेर गुन्द«ुकजस्तो गुजुल्टिएका देखिन्थे । गाउँमा साथीहरुले जिस्काउनु पर्यो भने उनलाइ ‘ओए गुन्द«ुके’ भनेर बोलाउँथे । दिउँसो टिफिनमा घर आउँदा उनी आफू र भाइलाई खाजा बनाउँथिन । खाजामा प्राय च्युरा भुजिया अनि कहिलेकाँहि चाउचाउ बनाउँथिन । पढाइमा अब्बल उनी भाइलाई पनि गृहकार्य गर्न सघाउने गर्थिन ।
बसुन्धरा अफिसबाट ५ बजेतिर कोठामा आइपुग्छिन । आज सवा ५ भएछ । कोठा पुग्दा त ढोका खुल्लै छ । छोरा छोरी कोहि कोठामा छैनन । उनीहरुको कोठामा पर्दा थिएन । सोहनको ब्याग लडिरहेको छ भित्तामा । संचिताले चाँहि झुन्ड्एयार राखिछ, सधैँ झुन्ड्याउने गरेको किलामा । अफिसमा हिसाब बल्ल बल्ल मिलाएर घर आएकी बसुन्धराको पारो तात्न खाटमुनि फ्याँकिएको संचिताको पेटीले पनि प्रमुख भूमिका खेल्यो । कराइन — “संचिता, ए संचिता । सोहन । बाबु सोहन ।” ६, ७ पटक यसरी नै चिच्याए पछि संचिताले सुनिछ । माथ्लाघरमा टिभी हेर्दै गरेका दिदिभाइ जर्याकजुरुक उठेर कोठातिर लागे । बाटैमा उनीहरुले अनुमान लाए ‘आज ममी साह्रै जंगिनुभएको छ ।’
नभन्दै कोठाभित्र पस्न पाएको छैन, खाटमुनि रहेको पेटि उठाएर संचिताको ढाडमा बर्साउन थालिन । सोहन डरले खाटमुनि नै गएर लुक्यो । पेटिले पिट्न पुगेपछि संचिताको कपाल समाइन बसुन्धराले । गुन्द«ुकजस्तो उनको कपाल मज्जाले हातमा आउँथ्यो । देब्रे हातले गुन्द«ुके कपाल समाएर बसुन्धरा बर्बराइन — “जहिले अर्काको घरमा खातेजस्तो के टिभी हेर्न जान्छेस ए गुन्दु«के ? भाइलाई फकाएर घरमै बसेर होमवर्क गर्नुपर्दैन ?” संचितालाई पिट्न पुगेपछि सोहन पट्टि खन्निइन उनी । “छोरा सोरा भन्दिन । पछि पाल कि नपाल ।” भन्दै हातैले २, ४ झापड लगाइन । रुन थाल्यो सोहन । संचिता अघि कोठा बाहिर भागिसकेकी थिइ ।
बेलुका घरबेटि आन्टीले पनि थाहा पाइछन, बसुन्धराले छोराछोरी पिटेको । खाना खाइसकेर बाहिर बसेर गफ गर्छन उनीहरु सबै जना । आन्टीले संचिताको कपाल हेर्दै भनिन — “यी जगटा काटे त ममीको हातको भुत्ल्याइ सहनु पर्दैनथ्यो नि ।” संचिता लाँडिदै बोल्छे — “भनेको त हो नि । ममी काटिदिन मान्दै मान्नुहुन्न ।” “ल ल भोलि छोट्याइदिउँला ।” बसुन्धरा कुर्सीमा अडेसा लाग्दै भन्छिन ।
आइतबारबाट उनीहरुको पहिलो त्रैमासिक परिक्षा सुरु भयो । मामाले समयमै पैसा पठाइदिएकाले उनीहरुले सहजै परिक्षा दिन पाए । नत्र त फि नतिर्ने उनीहरुका कति साथीलाई परिक्षामा बस्नै दिइएन । भोलिपल्ट साथीका आमाबाबु आएर प्रिन्सिपल सरलाई अनुरोध गरेपछि मात्र परिक्षा दिन पाए उनीहरुले ।
आज त रिजल्ट बाँड्ने दिन । संचिता र सोहनको परिक्षा राम्रो भएको थियो । उनीहरुको यो नयाँ स्कुल थियो । बसुन्धराले आज अरु दिनभन्दा चाँडो खाना पकाइन । फटाफट छोराछोरीलाई दिएर आफु पनि खान बसिन । खाना खाएर संचिताले स्कुलको कपडा लगाइ । सोहनलाइ आमाले लगाइदिइन । छोराछोरीलाइ स्कुल पठाएर उनी अफिसतिर हिँडिन ।
स्कुलको चौरमा सानो हातेमाइक राखिएको छ । विद्यार्थीहरु केहि डर, केहि उत्साहको भावमा उभिइरहेका छन ।  धेरैका अभिभावक पनि आएका छन । सोहन उसकै साथीहरुसँग गयो, संचिता उसकै साथीहरुसँग मिसिइ । केहि बेरमा भाइस प्रिन्सिपल सरले परिक्षाका बारेमा केहि बताउन थाले । अलि बेरमा कक्षा १० को परिक्षाफल भन्न थालियो । क्रमैसँग कक्षा ३ को परिक्षाफल भन्ने बेला भयो । संचिता जिज्ञासु भावमा सरको मुखतिर हेर्न थालि । पहिलो अर्कै कोहि आएछ तीन कक्षामा । “संचिता थापा केम सेकेण्ड इन क्लास थ्री ।” यो सुन्ने बित्तिकै संचिता खुशीले एकछिन त्यहीँ चौरमै नाचि । उनीसँग मिल्ने साथीहरु खुशी भए । सोहन पनि पास भएछ ।
बेलुका बसुन्धराले खुशीको दिन भनेर आधा केजी कुखुराको मासु ल्याएर पकाइन । दाल पनि बनाइन । खाने बेला भयो । पस्किइन । सोहनले मासु मुखमा हाल्दै भन्यो “ममी, मलाइ त गुन्द«ुक पनि मिठो लाग्न थाल्यो नि । तर चिकेन झन मिठो लाग्छ ।”
“गुन्द«ुकेको भाइलाइ गुन्दुक मिठो लाग्नै पर्यो नि ।” बसुन्धरा हाँस्दै संचिताको टाउको मुर्सान थाल्छिन ।

No comments:

Post a Comment

guys please comment hai!