Tuesday, July 29, 2014

कथा


क्यान्सर

चौथो फ्लोर । खिचापोखरीको व्यस्त बजारको एउटा बिल्डिङमा उसको अफिस छ । चौथो तलाको पूरै भागमा अफिस फैलिएको छ । जम्मा ७ वटा क्याबिन बनाइएका छन । दुई वटा कोठा छन, दुई जना हाकिमका लागि । वास्तवमा हाकिम दुई जना हैनन । एक जना एमडि हुन । अर्की उसकै श्रीमति हो, जो अफिसको एकाउण्टेन्ट हो । एकाउण्टेट के भन्ने, महिना महिनामा स्टाफहरुलाइ तलब दिनु उसको एकमात्र काम हो । घरमा एक्लै के गर्ने भन्ने द्धिविधाले अफिस आएकी देखिन्छिन उनी ।
अफिसमा ५ जना महिला स्टाफ छन । पुरुष उ र अर्को एक जना । साँच्चै यो पनि हुन सक्छ, खासमा एमडिकी पत्नी आफ्नो पतिको चियो गर्न या भनौँ उसलाइ साइजमा राख्न अफिस आउने गर्छिन ।
आज अफिसमा दुई जना महिला स्टाफ आएका छैनन । एउटी रिसेप्सनिस्ट अनि अर्की टाइपिस्ट । त्यसैले रिसेप्सनिस्टको काममा अर्की खटिएकी छिन । उ खासै काम नभएकोले ट्विटर हेरिरहेको हुन्छ । यत्तिकैमा उसको क्याबिनको फोन बज्छ,
“दिपकजी ।”
“गुड मर्निङ सर !”
“मर्निङ मर्निङ । पटेलजीसँगको मिटिङ कहिले राख्ने ? त्यसको लागि प्रपोजल बनाउनुस है ।”
“हुन्छ सर । म भरेसम्म प्रपोजल रेडि गरिसक्छु । अनि पटेलसँग पनि कन्ट्याक्ट गर्छु ।”
“ओके ।”