Tuesday, July 29, 2014

कथा


क्यान्सर

चौथो फ्लोर । खिचापोखरीको व्यस्त बजारको एउटा बिल्डिङमा उसको अफिस छ । चौथो तलाको पूरै भागमा अफिस फैलिएको छ । जम्मा ७ वटा क्याबिन बनाइएका छन । दुई वटा कोठा छन, दुई जना हाकिमका लागि । वास्तवमा हाकिम दुई जना हैनन । एक जना एमडि हुन । अर्की उसकै श्रीमति हो, जो अफिसको एकाउण्टेन्ट हो । एकाउण्टेट के भन्ने, महिना महिनामा स्टाफहरुलाइ तलब दिनु उसको एकमात्र काम हो । घरमा एक्लै के गर्ने भन्ने द्धिविधाले अफिस आएकी देखिन्छिन उनी ।
अफिसमा ५ जना महिला स्टाफ छन । पुरुष उ र अर्को एक जना । साँच्चै यो पनि हुन सक्छ, खासमा एमडिकी पत्नी आफ्नो पतिको चियो गर्न या भनौँ उसलाइ साइजमा राख्न अफिस आउने गर्छिन ।
आज अफिसमा दुई जना महिला स्टाफ आएका छैनन । एउटी रिसेप्सनिस्ट अनि अर्की टाइपिस्ट । त्यसैले रिसेप्सनिस्टको काममा अर्की खटिएकी छिन । उ खासै काम नभएकोले ट्विटर हेरिरहेको हुन्छ । यत्तिकैमा उसको क्याबिनको फोन बज्छ,
“दिपकजी ।”
“गुड मर्निङ सर !”
“मर्निङ मर्निङ । पटेलजीसँगको मिटिङ कहिले राख्ने ? त्यसको लागि प्रपोजल बनाउनुस है ।”
“हुन्छ सर । म भरेसम्म प्रपोजल रेडि गरिसक्छु । अनि पटेलसँग पनि कन्ट्याक्ट गर्छु ।”
“ओके ।”


दिपकले यो अफिसमा काम गर्न थालेको धेरै भएको छैन । ३ महिना हुन्छ यहि हप्ता । अर्थात तेस्रो महिनाको तलब यो हप्ताको अन्त्यसम्म पाउनुपर्ने हो । ‘इले
क्ट्रोनिक्स एण्ड कम्युनिकेशन’मा बी.ई. (ब्याचलर अफ इन्जिनियरीङ) सकेर काम गर्न थालेको हो । मोटरसाइकल किन्न सक्ने हैसियत नभइसकेकोले बसमै यात्रा गर्छ । बिहान कोटेश्वर–एनएसी अनि बेलुका एनएसी–कोटेश्वर उसको दिनचर्या भएको छ आजकल । १०–५ को जिन्दगीमा अभ्यस्त हुने कोसिस गर्दैछ ।
दिपक एनएसीमा उत्रेर खिचापोखरीतिर लाग्यो । दिनभरी अफिसमै रहेर बेलुका निस्कियो । दिउँसै सँगै बीइ पढेको साथीले फोन गरेर बेलुका भूगोलपार्क छेउमा भेट्ने भनेकाले त्यतै लाग्यो । पिपलबोटको छेउको चियापसलमा पर्खन लाग्यो । चियापसलमा यसो हेर्छ त साहित्यकार जगदीश घिमिरेलाई पो चिया पिइरहेको देख्छ ।







“हैन यी त बितिसकेका हैनन र ? कि म सपना देखिरहेछु ?”
दिपक गहिरो अलमलमा पर्छ । जगदीश घिमिरेकै छेउमा गएर बस्छ । मज्जाले नियाल्छ । हो, ‘अन्र्तमनको यात्रा’ अनि ‘सकस’ पुस्तककै लेखक हुन । आफूलाई पनि एक कप चिया मगाउँछ । जगदीश घिमिरेतिर फर्कदै दिनेश बोल्छ – “नमस्कार सर । ‘सकस’को लेखक हैन, हजूर ?”
“हो त भाई । भाईको नाम ?”
“म दिपक क्षेत्री । ‘सकस’ निकै रोचक लागेको थियो मलाई । शाहकालीन राजाका प्रसंगदेखि लिएर माओवादी द्धन्द्धका किस्साहरु मज्जाले जोड्नभएको रैछ । बेलाबेला मार्मिक पनि बनायो ।”
“धन्यवाद भाई । भाईको प्रशंसाले पुलकित भएँ म । अनि भाई के काम गर्नुहुन्छ नि ?”
“म यहिं खिचापोखरीमा प्राइभेट कम्पनीमा काम गर्छु । मोवाइल टावरसम्बन्धी काम गर्छ अफिसले । प्रिज्मा टेक्नोलोजिज हो अफिसको नाम ।”
अफिसको नाम सुन्नेवित्तिकै घिमिरेको अनुहारको रङ नै फेरिन्छ ।
भन्छन – “ओहो, भाईले त्यो अफिस भोलिबाटै छोड्नुहोला । त्यो अफिस गैरकानुनी काममा लागेको छ । भविष्य खराब छ त्यो संस्थाको ।”
दिपक झस्किँदै – “हजूर, कसरी दावाका साथ भन्न सक्नुहुन्छ ?”
“भाई, म त मरिसकेको मान्छे । भविष्य देख्न सक्छु । मेरो ६ महिनाअगाडि नै माइलोमा क्यान्सरका कारण मृत्यू भइसकेको थाहा छैन तपाईलाई ?”
“मरिसकेको मान्छे कसरी फेरि यो पृथ्वीमा आउनुभयो त ? यो कसरी संभव छ ?”
त्यत्तिकैमा जगदीश घिमिरे बिलाउँछन एक्कासी । उदेक मान्छ दिपक । त्यति नै बेला साथीको फोन आउँछ – “हेर्न यार ! लैनचौर आइपुग्नै लाग्दा बाइक पंचर भयो । बनाउदै छ । बस्दै गर है एकछिन ।”
बोर मान्दै फेरि अर्को कप चिया मगाउँछ ।
अर्को दिन फेरि उहि रुटिन । पौने दश बजे कोटेश्वरबाट माइक्रो चढ्छ । लास्टमा एउटा सिट खाली रैछ । गएर बस्छ । छेउको मान्छेलाई आँखा लाउँछ ।
“अहो ! स्टिभ जब्स पो हैन, जब्स मरेको ४ वर्ष भैसकेको हैन र ? यो के भइरहेछ मलाई अचेल ?” उ मनोवादमा फँस्छ । फेरि हेर्छ । हो एप्पल कम्पनीको पूर्वसिइओ स्टिभ जब्स नै हो । अन्तिम सिटको सबैभन्दा बायाँपटि स्टिभ जब्स छ, त्यसको दायाँपटि दिपक छ । दिपकको दायाँपटि एउटा केटी कानमा इयरफोन घुसारेर आफैँमा मस्त छे ।
दिपक स्टिभ जब्ससँग कुरा गर्ने सोच बनाउँछ । दिपक– “हेल्लो आर यू स्टिभ जब्स ?” स्टिभ जब्स नेपालीमै जवाफ दिन्छ– “नमस्ते । हो म स्टिभ जब्स हुँ । तपाई ?”
स्टिभ जब्सले नेपाली बोलेको देखेर अचम्ममा पर्छ  । “म दिपक हुँ । तपाईको एकदम एकदम ठूलो फ्यान हुँ । तपाइको सोचहरु, उत्पादनहरु अनि दर्शनको म प्रशंसक हुँ । तपाईको त २०११ मै क्यान्सरका कारण निधन भैसकेको हैन र ?”
“हो । तर अझै पूरा गर्न बाँकी कामहरु रहेकाले म नेपालमा छु । ”
“कस्तो काम हो मिस्टर जब्स ? म केहि मदत गर्न सक्छु ?”
“मलाई जन्म दिने आमा सिरियामा बस्थिन । मेरा बाबुले उनलाई धेरै अगाडि छोडिसकेका थिए । आमा अहिले नेपाल आएकी छिन रे । त्यसैले म उनलाई खोज्दै आएको हुँ । ”
“तपाईलाइ त ‘फोस्टर फेमिली’ले हुर्काएको थियो । अनि तपाईलाई आफ्नो वास्तविक आमाप्रति खासै चासो नभएको मैले तपाइको बायोग्राफीमा पढेको थिएँ । के त्यो साँचो थिएन ?”
“वाल्टर इज्याक्सनले मेरोबारे धेरै कुरा तोडमरोड गरेको छ । मेरो मृत्युको केहि अगाडिमात्र मैले उसले लेखेको हेर्न पाएँ । त्यसैले गलत तथ्यहरु निकै परेका छन त्यो किताबमा । मलाई मेरी आमाको धेरै चासो थियो । एप्पलमा रहँदा म प्रत्येक महिना उनलाई भेट्न सिरिया जाने गर्थे । उनलाई अमेरिका नै ल्याउन मैले निकै प्रयास गरेँ । तर उनले मानिनन ।”
यत्तिकैमा सिंहदरबार आइपुग्छ । स्टिभ जब्स उत्रिन्छ ।
दिपकको दिनहरु कोठा–अफिस–कोठा गर्दै बितिरहेको हुन्छ । स्टिभ जब्सलाई भेटेको झण्डै एक महिना भइसकेको हुन्छ । एक शनिबार दिपक भक्तपुर दरवार स्क्वायरतिर घुम्न निस्किन्छ । मन्दिर, कला संग्रहलाय टहलिँदै हुन्छ । एक्कासी कसैले उसको हात समात्छ । झस्किन्छ उ । जगदीश घिमिरे पो उसको हात समाउँदै हाँसिरहेका हुन्छन । “दिपक भाइ हैन तपाई ? के छ खबर ?”
“नमस्कार सर । आराम छु सर । तपाई कसरी यहाँ ?”
“मेरो छोड्नोस । तपाइले अझै त्यो जागिर छोड्नुभएन है ? भोलि छोड्नुहोला, नत्र तपाइलाई नराम्रो हुन्छ । त्यो अफिसै बन्द हुन्छ ।”
ट्वाँ पर्छ दिपक ।
कोठा पुगेर धेरै सोच्छ । “यी बूढाले किन जागिर छोड भन्छन हँ ? हुन त खासै तलब पनि दिँदैन । अफिसै बन्द हुन्छ भन्छन । ह्या जे पर्ला भोलि राजीनामा पत्र थमाइदिनुपर्यो ।”
भोलिपल्ट ‘रिजिगनेशन लेटर’ दिँदा हाकिम अचम्ममा पर्छन । उसले व्यक्तिगत कारण भन्छ ।
अहिले दिपक बेरोजगार छ । निकै ठाउँमा अप्लाई गरेको छ । कुनै कम्पनीले पनि बोलाएका छैनन ।
एक बिहान पत्रिका हेर्दै हुन्छ । एक्कासी समाचार देख्छ ५० लाख कर छली गरेको आरोपमा उसको पूर्व अफिसको हाकिम पक्राउ परेछन । अफिसको दर्ता नै खारेज भएछ ।
कुनापटि ‘छोटकरी’मा पढ्छ, स्टिभ जब्सकी आमा जोन्ना स्किीबलको लाश बागमती किनारमा फेला पर्यो ।

No comments:

Post a Comment

guys please comment hai!