Friday, December 12, 2014

के मानसिकता रातारात परिवर्तन हुने कुरा हो ?

हालै सम्पन्न १८ औँ सार्क सम्मेलनका लागि काठमाण्डौ भव्य रुपमा सिँगारिएको सर्वविदितै छ । झट्ट सबैले देख्ने, याद गर्ने परिवर्तन चाँहि तीनकुने—माइतिघर सडकखण्डमा बनाइएको ग्रीनबेल्ट (सडक छुट्याउन बिरुवा, दुवो, फूल आदि रोपिएको लामो संरचना) नै थियो । सडकवत्ती, थपिएका पिच, घटेको लोडसेडिङ पनि आम जनताले अनुभव गर्न पाए सार्क अवधिभर ।
अहिलेको चर्चा के हो भने त्यो ग्रीनबेल्टको संरक्षण गर्न सकिएला वा नसकिएला । सडकको सौन्दर्य दीर्घकालसम्म टिक्ला वा नटिक्ला ? प्रारम्भिक संकेतहरु उति सकारात्मक देखिएका छैनन, केहि दिन यताका घटनाहरु अनि समाचारहरु हेर्दा÷पढ्दा । थुप्रै पैदलयात्रुहरुले तिनै ग्रीनबेल्टमा कुल्चेर सडक पार गरेको पक्कै सुखद समाचार होइन । भर्खरै रोपिएका फूलका विरुवाहरु पैदलयात्रुको मिचाइमा परेर मर्न थालेका छन । फेसबुक, ट्विटर जस्ता सामाजिक संजालहरुमा त्यस्ता व्याक्तिहरुको फोटो सार्वजनिक गर्ने प्रचलन समेत बढिरहेको छ । ट्राफिक प्रहरिले जथाभावी बाटो काट्ने, विरुवा कुल्चने, दुवो विगार्ने मानिसहरुलाई समातेर फेरि त्यस्तो नगर्ने शर्तमा र कतिलाइ त २०० रुपैयाँ जरिवाना समेत तिराएर छोडिरहेको छ । त्यस्तै सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृह अगाडि राखिएको फूलका गमला फुटाइएको छ । त्रिचन्द« र रत्नराज्य क्याम्पसका विद्यार्थीहरुको झगडा विचमा पर्न पुगे ती गमला ।
गल्ती के पैदलयात्रुको मात्र हो त ? के उनीहरुले रहर लागेर वा विरुवा बिगार्ने उद्देश्य राखेर नै त्यसो गरेका होलान त ?


बुद्धनगरमा सडक पार गर्न कि विजुलीवजारको पुल अथवा बानेश्वर नै पुग्नुपर्ने वाध्यता छ । कारण, बुद्दनगरबाट बाटो पार गर्न ग्रीनबेल्टले रोकेको छ । पैदलयात्रुको ५ मिनेट समय अनावश्यक खर्च हुनु के जायज छ त ? यसवारे सरकारले, ट्राफिक प्रहरिले अनि सडक विभागले सोच्नु जरुरी छैन ? जथाभावी बाटो काट्दा समातिन पुगेका धेरैले ‘हतार हुँदा बार क्रस गर्नु बाध्यता भएको’ बताएका छन । यसरी हेर्दा पैदलयात्रुलाई मात्र दोष दिन, कारवाहि गर्न मिल्दैन । फेरि कति जेव्राक्रसहरु भएका स्थानमा सडकको पल्लो पटि बार लगाइएको हुन्छ । अनि जेव्राक्रस राखेको के मतलब भयो र ?
सरसर्ती हेर्दा पैदलयात्रुहरुले नजानेर भन्दा पनि ‘केहि हुदैँन’, ‘कसले के गर्छ र?’, ‘जहिल्यै यसरी नै बाटो काट्ने गरेको छ’ आदि बहानामा जभाभावी सडक पार गरेका हुन । फेरि वर्षौँदेखि जभाभावी, व्यस्त सडकको वीचबाट, डोरी नाघ्दै बाटो काट्ने मानिसहरुलाई आजको भोलि नै जेव्राक्रसबाट बाटो काट भन्नु अमिल्दो हो, अझ भनौँ अन्याय नै हो । काठमाण्डौका सडकमा सबै ठाउँमा जेव्राक्रस छैन । झन १÷२ वर्ष अघिसम्म त एकदमै कम स्थानहरुमा जेव्राक्रस थिए । भएका पनि रंग फुंग उडेका, नदेखिने अवस्थामा थिए ।
सवारी चालकको जथाभावी शैलीले पनि जेव्राक्रसको औचित्यलाई प्रश्न उठाइदिएको अवस्था हो । माइक्रो चालकहरुको ज्यानमारा छवि, सार्वजनिक सवारीको बलमिच्याँइ शैलीले पैदलयात्रु सँधै सशंकित मनस्थितिमा रहन्छन । फेरि हाम्रो देशमा निजी सवारी चालकहरु समेत पैदलयात्रु मैत्री छैनन । जेव्राक्रस छेउमा आएपछि अझ हुँइक्याउने मोटरसाइकल चालक मात्र हैन, कार चालक पनि पैदलयात्रुको समस्या बुझ्दैनन । पेल्नै खोज्छन ।
फेरि अर्को महत्वपूर्ण कुरा, भौतिक परिवर्तन रातारात संभव हुन सक्छ । सार्क सम्मेलनका क्रममा एकदमै छिटो परिवर्तन देखियो पनि । तर मानिसको मानसिकता, सोचाइ, धारणा परिवर्तन हुन समय लाग्छ । दिनमै, हप्तामै, या महिनामै यो प्राप्य नहुन सक्छ । धेरै व्याक्तिहरुमा हुँदैन । वर्षौँदेखि सडक अनुशासन पालना नगरेका काठमाण्डौबासीहरुलाई सडकको फेरिएको अवस्था, कडा नियम सँग अभ्यस्त हुन निश्चित समय त लाग्छ नै । सर्वसाधारणमा जनचेतनाको कमी खट्किएको प्रस्ट रुपमा देख्न सकिन्छ ।
सडक अनुशासन पालना नगर्ने पैदलयात्रुहरुलाई हाललाई सम्झाइबुझाइ, हल्का चेतावनी दिएर छाड्नु नै उपयुक्त हुन्छ । फोटो खिचेर पत्रिका, अनलाइन पोर्टल, सामाजिक संजाल आदिमा राखेर सार्वजनिक बेइज्जति गर्नु समाधान हुनै सक्दैन । त्यसले प्रत्युत्पादक नतिजा दिन सक्ने संभावना हुन्छ, पैदलयात्रुहरुमा नकारात्मक भावना उत्पन्न हुने डर पनि विद्यमान रहन्छ । व्याक्तिमा गढेर रहेको मानसकिता उसको दिमागबाट पूर्ण रुपमा हटाउन निकै कसरत, अनि समयको आवश्यकता पर्छ भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

(सेतोपाटीमा २०७१ मंसीर १८ मा प्रकाशीत)

No comments:

Post a Comment

guys please comment hai!