Monday, September 22, 2014

घाँडो घरयात्रा





१२ कक्षाको परिक्षा सकिएपछि म काठमाण्डौ जाने भएँ । इटहरी कटेर पश्चिम नगएको मान्छे एकैपटक काठमाण्डौ जान अलिकति डर, अलिकति उत्साह, अनि अलिकति काउकुति सबै लागेको थियो । ं२ नै काठमाण्डौमा पढ्ने भनेको थिएँ मैले । तर बा, दाइहरु मान्नुभएन । ‘ं२ जहाँ पढे नि हुन्छ, ब्याचलर काठमाण्डौमा पढ्नु’ भन्नुभयो ।
बाले टिकट ल्याइदिनुभयो, शायद असार महिनाको कुनै दिन थियो त्यो । सीता यातायात, बेलुकी ४ बजे बस स्टेण्ड पुग्नुपर्ने । टिकट हात लाग्ना साथै खुशी, डर, कौतुहुलता, दुख आदि भावनाहरुले घेरा हाले । आमाले “सामान प्याक गर्नुपर्दैन कान्छा ?” भनेपछि झस्किएँ । २, ४ जोर लुगा, १ किलो घिउ यस्तै कुरा प्याक गरियो । आमा बस स्टेण्डसम्म छाड्न आउनुभो । बी साइडको ४ नंबरको सिट थियो । दुधेबाट अर्को यात्रु चढ्यो मेरो सँगैको सिटमा । युवा नै थियो, गफिन थाल्यौँ ।


इटहरीसम्म त आएकै हो । इटहरी काटेपछि झुम्का, इनरुवा, कोसी ब्यारेज आउँदा रमाइलो लाग्दै गयो । राती अँध्यारोमा बाहिर खासै केहि नदेखिने भए पनि बाहिर चियाइरहेँ । चोक बजार आउँदा झिलिमिलि हुन्थ्यो । साइनबोर्डमा ठाउँको नाम पढ्थेँ । यो ठाउँ आइपुगेछ भनेर बुझ्थेँ ।
खाना खान लालगढमा रोक्यो । सादा खाना मगाएँ । मासु खान उत्ति रुचि लाग्दैनथ्यो, अझै लाग्दैन । ओहो, कति नमिठो खाना ! झल्याँस्स आमालाई सम्झिएँ । आमालाई कति दंग्याउँथे म ‘मिठो भएन, चर्को भो’ कति गुनासा गर्थे । तर त्यो अन्जान ठाउँमा कसलाई गुनासो गर्ने ? ५, ७ गाँस रुच्यो । बाँकी छोड्देँ । पैसा तिर्ने काउन्टरमा ‘कति ?’ भनेर सोधेको । २०० भन्यो । मैले ‘सादा खानाको ?’ भनेर सोधेँ । ‘१५०’ भन्यो । तिरेर गाडीमा गएर बसेँ ।
११ बजेतिर निदाएँछु । बिच बिचमा पनि निद्रा खुल्दै, पर्दै गर्यो । छेउको साथी मस्त निदाइरहन्थ्यो । म ब्युँझदा पनि उ निद्रादेवीकै काखमा हुन्थ्यो, घरीघरी मुन्टो मेरो काँधतिर ल्याउँथ्यो । म पन्छाउँथे । बिहान ७ बजेतिर नौबिसेमा ‘ल है चिया खाउँ’ भन्दै रोक्कायो । चिया खान मन थिएन । बाहिर निस्केर धारामा मुखसम्म धोएँ । ८ बजेतिर थानकोट पुर्यायो । थानकोट काठमाण्डौ छिर्ने नाका हो भनेर दाइहरुले भनेको सुनेको थिएँ । एकछिन पछि कलंकी पुर्यायो । ल झरौं है सबैजना भन्दै खलासी करायो । सीटको साथी म तिमीलाई पुर्याइदिन्छु भन्दैथ्यो । मैले पर्दैन भनेँ । बरु उसको मोवाइलबाट दाइलाई कलंकी आइपुगेको बताए । झण्डै १ घण्टापछि दाइ आयो । अलिक सास आयो । अनि कोठातिर लागियो ।
घर जान भनेपछि एकदमै सकस लाग्छ मलाइ । घर जान मन नभएर हैन । गाडीमा हुने झन्झट, दुखले । झन दशैँमा त कति तनाव हुन्छ, सम्झन पनि मन लाग्दैन । धन्न, अहिलेसम्म गाडीमा उल्टी भएको छैन । भविष्यमा के हुन्छ, भन्न सक्दिन । एकपटक नाइट गाडीमा २ वर्षदेखि काम गर्दै आएको खलासीलाई बाटोमा नराम्रोसँग उल्टी भएको थियो रे ! दाइले सुनाउँदा अचम्म लागेको थियो ।
एकपटक बैशाखमा घर जानुपर्यो । तराइ बन्दको आह्वान गरिएको थियो, कुनै मधेसवादी दलद्धारा । डर थियो, कतै बन्दमा रोकिनुपर्ने हो कि भनेर । म मात्र हैन, बसका सबै यात्रु चिन्तित थिए । बसका कर्मचारी भने ‘बिहान नहुँदै कोशी व्यारेज कटाउँछौ । ढुक्क हुनुस ।’ भन्दै थिए । बस लहानबाट अघि लागेको मात्र के थियो, दाहिने पट्टिबाट ठुलो ढुंगा बजारियो । म बसेकै सिटभन्दा केहि पछाडिको बसको भागमा लाग्यो । ड्राइभरले गाडी झन तेज चलायो । सातो पुत्लो उड्यो नि ! कति महिला यात्रु त भगवानको नाम जप्न थालिसकेका थिए । त्यसपछि केहि नभइ घर पुगेँ ।
दशैँको मुखमा कोशीमा आएको बाढीले राजमार्ग बगायो । कि भारत, बिहार हुँदै जानुपर्ने, कि डुंगाको सहायताले जानुपर्ने भयो । हामीले पछिल्लो विकल्प रोज्यौँ । अनि एकपटक फेरि, र दुइपटक साना खाले डुंगा चढेपछि लौकही पुग्यौँ । त्यँहाबाट इटहरीसम्म लोकल बसमा गएर अर्को बस समातियो । फेरि एकपटक सकुशल घर पुगियो ।
दुइ चार पटक ओहोरदोहोर गरिसकेपछि बानी पर्दै गयो । एकपटक फट्याइँ पनि गरेँ । खाना मगाएँ । खाइसकेर चुठेर पैसै नतिरि हिँडे । साहुले मागेन, मैले पनि दिइँन । ‘कति तिमेरु मात्रै ठग्छौ’ भन्दै मनमनै खुशी भएँ । पछि दिदिलाई सुनाउँदा रिसाइ । खानाकै प्रसंंगमा एकपटक चितवन, रामनगरको एउटा होटलमा खाना खाँदै गएँ । १० गाँस जति खाएसकेपछि यसो हेर्छु त, दालको बटुकामा साबुनको डल्लो टाँसिरहेको छ । अनि खान छाडेर उठेँ । कसैलाइ केहि भन्नु सार्थक हुन्छ जस्तो लागेन । पैसा तिरेँ अनि गाडीमा उक्लिएँ ।
कोशीले बिगारेको बाटो बनेकै थिएन । बिहार हुँदै काठमाण्डौ जाने निधो गर्यौँ । गाउँकै चिनेको दाइ कण्डक्टर भएको गाडीमा चढ्यौँ । इटहरीबाट गाडी विराटनगरतिर सोझियो । जोगवनी हुँदै गाडी हुँइकियो । बाटोमा के के ठाउँ आए, गए केहि पत्तो पाइएन । एक्कासी एक ठाउँ रोकियो, खाना खानलाई । स्टाफ खानामा रोटि, हाँसको अण्डाको अम्लेट के के खाइयो के के । बिहान ६ बजेतिर नेपालतिर निकाल्दा कँहा पुगियो होला भनेको त त्यही कोशी व्यारेजको छेउमा पो निस्कियो । खिस्रिक्क पर्यौँ । १२ घण्टाको बसयात्राले केवल २५, ३० किलोमिटरको बाटो छिचोलिएको थियो ।
बारा जिल्लामा पर्ने पथलैयाको जंगलमा गाडी गुड्दा चैँ निकै डर लाग्थ्यो । किनकी त्यँहा दिनहुँ लुटपाट हुन्थ्यो माओवादीको जगजगी भएका बेला । तर पछि पछि सामान्य हुन थाल्यो । तर पनि गाडी १०० किमी प्रति घण्टाभन्दा कम हुँदैन कहिले पनि उक्त जंगलमा ।
यो दशैँमा पनि घर जानुछ । १२ गते नाइटमा । पहिलो पटकको यात्राजस्तै खुशी, डर, कौतुहुलता, अनि दुख एकसाथ आइरहेछन मनमा ।
ह्याप्पी दशैँ !
(सेतोपाटि अनलाइनमा प्रकाशित )

No comments:

Post a Comment

guys please comment hai!