Sunday, November 8, 2015

नाकाबन्दी

आज एउटा कविता लेखुँ लेखुँ लाग्यो अनि लेखेँ । त्यस्तो खतरा त छैन, साह्रै झुर नि नहोला ! ;))



रत्नपार्क... रत्नपार्क...
एकनासले कराइरहन्छ
घाँटीका नशा फुलेको
प्रस्ट देखिन्छ
थाहा हुन्छ हेरेर उसका कपाल
अगाडी लामो, पछाडी चुच्चो
शायद मग कट भन्छन
उसको कपाललाई
उ अर्थात फुच्चे खलासी

सिन्धुपाल्चोकको कुनै
अनाम तर विकट गाउँबाट
बाबुको दलाइ
आमाको कचकच
अनि सरको झापड
खप्न नसकेर
हावाको वेगको दौडिएको
फुच्चे खलासी
ओर्लिन्छ सुर्यविनायकमा ।
सुरु गर्छ अर्को जीवन
सुरु गर्छ काम
सुरु गर्छ यात्रा
सुरु गर्छ खलासी जिन्दगी !
यात्रुले १८ रुपैयाँ भाडामा
१५ मात्र दिँदा भने पिरोलिन्छ
ज्डिबुटी रत्नपार्क रु १८
फोर्स गाडीको ढोका सिरानमै
टाँसेको भाडा तालिकामा
प्रस्टै छ त
तर पनि धेरै पटक  माग्न
सक्दैन फुच्चे खलासी
यात्रु ठग्नै खोज्छन उसलाइ
यात्रु पेल्नै खोज्छन उसलाइ

पशुपति आयल पम्पमा
पूरा दुइ दिन लाइन बसेर
हालेको डिजेल बाल्दै
यात्रु बोक्न हिँडेको
फुच्चे खलासीलाई आज
नाकाबन्दी लाग्नेछ
किनकी साहुले भत्ता
दिने छैन
कम पैसा जम्मा पारेको भन्दै
डाइभरले खुसुक्क
सय रुपैयाँ हाल्दिने छैन
उसको खुइलेको खैरो सर्टको गोजीमा
नाकाबन्द देशमा
शायद उसको
मुखबन्द रहला आज

No comments:

Post a Comment

guys please comment hai!