Sunday, May 8, 2016

मदर्स डे

अस्ती शुक्रबार, २४ बैशाखमा आमाको मुख हेर्ने दिन वा मातातिर्थ औँसी मनाइयो ।
Photo Credit: Huffington Post
 आज मैतिदेवीमा देखेको दृश्यबाट सुरु गरौँ । झन्डै ६ महिनाको बच्चालाई क्याइरिङ ब्यागमा अघि राखेर एक आमा स्कुटरमा जाँदै थिइन । स्कुटरमा गति एकदमै कम थियो । अगाडिबाट हानिरहेको हावा त्यति वेगयुक्त पनि थिएन । मलाई झट्ट सोच आयो, आहा कति स्मार्ट आमा । शायद आफ्नो काममा जाँदै थिइन ।


अलि अघिका आमा र अहिलेका आधुनिक अनि स्मार्ट आमाहरुमा आकाश पातालको फरक छ । हाम्रा आमाहरु अफिसमा काम गर्नुहुन्न । मिटिङमा जानुहुन्न । तर आजका आमाहरु बच्चालाई स्याहारेर पनि अफिस जान्छन । आफ्नो करियर प्रति पूर्ण सचेत छन ।
वास्तवमा मदर्स डे यिनै महान आमाहरुमा समर्पित दिन हो । कम्तीमा त्यसो हुनुपर्ने हो । तर त्यसो भएको देखिएन ।
फेसबुकको एउटा अति प्रचलित पेज मेन्स रुम रिलोडेडमा एउटा व्यंग्यात्मक स्टाटस आयो । “छोरा छोरीले आमाका बारे खत्रा स्टाटस लेखेर लाइक कमाइसके, विचरा आमालाई पत्तै छैन ।” हो पनि, अलि अघिका आमाहरु फेसबुक चलाउनु हुन्न । मेरी आमाको कुरा गर्ने हो भने वँहा मोबाइल नै बोक्नुहुन्न । गाह्रो लाग्छ रे बोक्न । छोराछोरीले धेरै कर गरेपछि एकपटक बोक्नुभएको थियो, गोजी नै फाट्यो रे । हुर्याइदिनुभयो ।
कति आधुनिक केटीहरुलाई भने आमा बन्न मन पर्दैन । सबैले आमा बन्नै पर्छ भन्ने पनि होइन । तर प्रकृतिको नियम अनुसार नचले समय क्रममा नकारात्मक असर पर्न सक्छ । मैले हालै एक हिन्दी फिल्म कि एन्ड का हेरेको थिएँ । त्यसमा अभिनेत्री करिना कपुरले एक संवाद बोल्छिन “संसारमा अहिले नै यति धेरै बच्चाहरु छन, अर्को एउटा जन्माएर किन झन्झट लिने?” फिल्ममा पछि उनी गर्भवती भएको शंका हुन्छ । उनी अति नै आत्तिन्छिन । राम्रो तलब थाप्ने मार्केटिङ म्यानेजर करिनालाई संसारै सकिएको भान हुन्छ । सौभाग्यवश उनी गर्भवती भने भएकी हुँदिनन ।
आमा हुनुमा एउटा अलौकिक आनन्द अनि सौभाग्य महसुस हुन्छ भनेर कति आमाहरुले भनेको सुनेको छु । आमा हुनु सँगसँगै त्यसका दुख, चुनौति अनि समस्याहरु भने आइ हाल्छन । फेरि आमा हुन पूर्ण रुपमा तयार नभैकन गर्भवती हुनु अनि बच्चा जन्माउनु गलत हुन्छ । त्यसले राम्रो गर्दैन । कतिपय आमाहरुले बच्चा जन्माएर त्यसलाई निर्ममतापूर्वक फालेको सुनिन्छ ।
खैर जे होस, आमाहरुका कारण नै हामी छौँ । बुबाहरुको अवमुल्यन गर्न खोजेको हैन तर आमाहरुको भूमिका अत्यन्तै बढि हुन्छ । सन्तान पनि बढि आमासँग खुल्छन, नजिक हुन्छन । सन्ताउन जन्माउनको शारिरीक कष्ट हामी पुरुषले शायद महसुस गर्न सक्दैनौँ ।
ह्याप्पी मदर्स डे । थ्यांक्यु मम फर एभ्रिथिङ ! :)

No comments:

Post a Comment

guys please comment hai!